मनगणन्ते कमाइ – इखालु रमेश
कहिँ नभाको जात्रा हाँडी गाममा भन्ने उक्तिलाई जुक्ति लगाई यताउती कनिकुथी घोरेर सोंच मग्न हुँदा त आजकाल हाँडीगाममा हैन खाडीगाममा पो जात्राको मात्रा होउस्सीएको फेला पर्यो । होइन हौ यो हाँडीगामको जात्रालाई नै माथ ख्वाउने गरी खाडीगाममा कस्तो जात्रा भाछ भनि पाठकवृन्द आफ्नो गिदीलाई पिंधी गाँठी कुरोको चुरो फोर्न झिरीमिटी दाउरा जोर्न नथाल्नु बेकारमा आफ्नो गाथ आफैं नगाल्नु । किन कि तपाईंहरुलाई रनभुल्लमा नपारी यो मरन्च्याँसेको चर्मचक्षुले देख्या कुरो बनी सुरो छताछुल्ल घोप्ट्याउँदैछ मुडै गिड्न नसके नि बोक्रा बोक्री चोइट्याउँदैछ कलमको आडमा कुत्रुककुत्रुक ।घरको पाडी बेची खेतबारी साहुको नाम लेखी डाँडा माथिको जून झैं भइसकेका बा आमा अनि मसीनै ध्यापूताहरु र आफ्नी रामप्यारीलाई घराँ छाडी खाडीमा पैसाको रुखमा दुविनी चौताराको बरको हाँगामा सैसैला खेले झै सैसैला खेलौला गोठालो जाँदा पाँगो माटोलाई आँटो सम्झी बेले झै रियल र डलरलाई बेलौला भन्ने लाटकोशेरे सपना देखी मनगणन्ते कमाइको हाली रेखी बिदेशीने नेपालीको हुद्धा बढ्दो छ दिन दुगुना रात चौगुना उँधोगति चढ्दो छ । गाममा हली जाँदा राँटो छोड्दै जोत्दा पनि दुई फाँको आँटो चिसापानी गहिराको चिसो पानी सँगै निल्न पाइयाथ्यो । तर यहाँ त हावा तातो पानी आकाश तातो धर्ती तातो तातै तातोले उड्दो छ सातो आफ्नो आङमा नहाले बख्खु डाङग्रीको कसीलो गातो । यस्ता मौसमे जात्राका कात्रा हाँडी गाममा भन्दा खाडी गाममा बिकासे भएका कुराको पुरा खाडी गामका मानवयन्त्रले खाइरहनु नपर्ला ।
पाठकवृन्द यी त भए आफ्नै मतिले खती भई आफ्नो आयूलाई वायू ख्वाएका जात्राको मात्रा । यस्ता जात्रा कत्ति रहरले सिर्जिन्छन् त कति बाध्यता परिस्थितिले अनि कत्ति त तमसुकको तिथिमिति ले नै । यस्ताखाले कोलमा मेल पेलिए झैं पेलिएको मान्छे आत्तिन्छ मात्तिन्छ अनि मानसिक कमजोरीले मनगणन्ते दलदलमा भासिन्छ । यस्तो मौकामा चौका हान्न आफ्नो मोहनीजालमा बाँध्न छद्मभेषीहरु हुलबाट मुल निस्किए झै निस्कन्छन् अनि थाल्छन् मनगणन्ते कमाइको कुबेर पूराण सुनाउन । सडक सडकमा तडक भडकमा पटका पड्के झै बोलीमा झुटै झुटको खोलीमा नेपाली रगत र पसीनालाई चुस्न अभ्यस्त छन् हिजो आज मनगणन्ते कमाइका प्रवर्तकहरु । हिंजो आज खाडी गामका चोक चोकमागल्ली गल्लीमा एउटा डलर रुपी माछा मार्ने झुलको कुरो हुन्छ । न्वाराने परिचय गोलो बिज नामाकृत भएको त्यो छद्मी झुल डलरको मूल हो भन्ने लोभको बास गराई निमुखा र अर्धज्ञानीलाई फोस्रो आश्वासनले भराई नेपाली पसीनाको मुल्यमा नुहाइ नुहाइ गर्दो छ । दाइने देब्रे एक एक खुट्टो जोडी डलरको मूल फोडी डलरे माछा च्याप्प च्याप्पी समाउन पाइने सपना देखाउने यस्ता साजालेको भीडले कहिले घडीको आवरणले मख्ख पार्छन् भने कहिले बिमाका कुराले । जति खुट्टा जोड्दै गयो उति डलर खाने मुख बढ्ने बकमफुसॆ बोलीमा लट्पटिएकाहरु आफ्नो रगत र पसीनाको मूल्य पनि झ्वाम पारी पश्चातापमा जल्नु सिवाय अर्को विकल्प नहुने कुरा चटक्क बिर्सिएर मनगणन्ते कमाइ पूराणका वाचक अघि याचक बन्दा छन् ।
यस्ता छद्मे खेलाडीको रेलगाडी हाँडी गाममा दुई चार बर्ष पहिल्यै गोलो क्वेष्ट नाम चिप्काएर कानुनी लिक विनानै छक छक छक छक गर्दै लोभ्याइलो बीज छर्दै गुडेथे । साधारण मजदुर देखि मैं हु भन्ने विद्वानको समेतको टाउको मुडेथे । घरको पेटारी बाख्रो लैनो भैसी अनि जायजेथा सिरीखुरी पारी सरकारी जागीर नी बैर्तनी तारी टुकुचामा सेलाएर डलरे खेतीमा होमिने नरनारीहरु डलरे छद्मीको रश्मी भ्रामक भएको पुष्टि हुँदा हाँडीगामका गल्ली गल्ली भौतारीएर रुँदा यो मरन्च्याँसे नरोउ बा भनौ कि खुच्चीङ दुख पाइस मंगले आफ्नै ढंगले भनौ भनी गम खाइ रमरम भएथ्यो ।
त्यसैले घरको पेटारी बाख्रो तुहे पनि साहुले गोठको भैसी दुहे पनि जालीको पाली परी आफ्नो रगत र पसीनाको कमाइलाई मनगणन्ते कमाइको लोभमा छोप हाल्दाजाडो भगाउन आफ्नो घर आफै बाल्दा हस्तिनापूरीको राज हैन चपरी मुनिको बास नहोला भन्न सकिन्न । जलपे कुराको पुरा ख्वाउन लिप्त किर्नाहरु र रगत दिइ मुटु लुछ्नेहरुको पछि लाग्नेहरुलाई भीरमा जाने गाईलाई राम राम भन्नु सिवाय अर्को विकल्प यो मरन्च्याँसेको भुत्ते दिमागमा अरु केही छ जस्तो लाग्दैन । त्यसैले, के आमाको लाम्टा चुसेर नभएर बाउको घुँडो चुस्ने शैलीको मनगणन्ते कमाइलाई परिश्रम र मेहनतको कमाइको धरातलमा समानान्तरीय रुपमा देख्न सकिन्छ ? के बिल गेट्सको सर्वसम्पन्नशाली दलानमा मनगणन्ते कमाइ छद्मी पुराणको नै वाचन गरिएको थियो ? या अथक मेहनत दृढता र कार्य निरन्तरताको? के सोमालिया, इथोपीया सुडान लगायतका अनिकाले मुलुकमा मनगणन्ते कमाइको छायाँ नपुगेरै भोकमरी र आर्थिक प्रतिकुलताले डसेको हो त? जे होस् आहारा ओकल्च्याउने दाँत देखाउनु नै हाँस्नु भए कुपोषणले ग्रसित खुट्टी खोच्याँउनु नै नाच्नु भए सबै चम्किला वस्तु जति मणिमाणिक्य भए पटका पड्के झै बोल्ने नै विद्वान भए यो मरन्च्याँसे आफ्नो कलमको निपमा खिप लाउँदै सखुवाका टोड्कामा बसी मूक पात्र बन्ला । यदि होइन भने निर्दोष माछालाई कुटिल मत्स्याहाले फालेको विषाक्त चारोको गारोमा परी कोही पनि नचेपिउन् मनगणन्ते कमाइको लोभमा रछ्यानमा नदेखिउन् भन्ने कामना र कटु सत्य ओकल्दै अहिलेलाई ओझेल पर्छ यो मरन्च्याँसे ।
इतिश्री मनगणन्ते कमाइ छद्मी पूराण तुरितम् ।










Sunlight peeps through my window
you are able to achieve your target
hey it’s really nice